Sunday, September 18, 2011

आज साँझ गएको शक्तिशाली भूकम्पबाट घाइते भएका चार जना मध्ये तीनको मृत्यु


आज साँझ गएको शक्तिशाली भूकम्पबाट काठमाडौंको लैनचौरस्थित बेलायती दूतावासको पर्खाल भत्किंदा घाइते भएका चार जना मध्ये तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा गुल्मी स्थायी घर भएका बाबु छोरी साजन श्रेष्ठ र अनिता श्रेष्ठ छन् भने अर्का एक मृतकको पहिचान खुल्न सकेको छैन । वेलायती र भारतीय दूतावासबीच रहेको खोंचको बाटो हुँदै मोटर साइकलमा गईरहेको बेला एक्कासी पर्खाल भत्किंदा उनीहरु किचिएका थिए । उनीहरु चढेको मोटरसाइकल पनि पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने सोही ठाउँमा अन्य सवारी साधन पनि क्षतिग्रस्त भएका छन् । काठमाडौं उपत्यका लगायत देशैभर र भारतका उत्तरपूर्वी राज्यहरुमा महसुश गरिएको भूकम्प साँझ ६ बजेर २७ मिनेट जाँदा गएको थियो भने भूकम्प ६ दशमलव ८ रेक्टर स्केल मापन गरिएको छ । यो भूकम्प विक्रम सम्वत् १९९० को भूकम्पपछिको सवैभन्दा ठूलो हो ।
भूकम्पको केन्द्र विन्दु पूर्वी नेपालको ताप्लेजुङ जिल्ला र भारतीय राज्य सिक्कीमको सिमानामा रहेको जनाइएको छ । भूकम्पको झट्का पूर्वबाट पश्चिमतर्फ गएको थियो । रामेछापको एकजना घाइते भएका छन् भने एउटा घर भत्एिको जनाइएको छ । गुम्देल, जुडुवा लगायत गाविसहरुमा पनि घर भत्किएको जनाइएको छ । स्याङ्जाको दशथुममा एक घर र लमजुङको बाहुन डाँडामा पनि घर भत्किएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । भूकम्पले सडकमा गुडिरहेका गाडी समेत हल्लिएका थिए । भूकम्पबाट के कति क्षति भयो भन्ने विवरण आएको छैन । भूकम्पको झड्का उत्तर भारतीय राज्यहरु र नयाँ दिल्लीमा समेत गरिएको थियो । भूकम्प गएपछि मानिसहरुमा अहिले त्रास बढेको छ भने कतिपय मानिसहरु घरभित्र जान सकिरहेका छैनन् । आज आएको भुकम्प ९० सालको भुकम्पपछिको ठूलो भएको भुकम्प मापन केन्द्रले जनाएको छ । वि.सं. १९९० साल माघ २ गते ८ दशमलब ४ र २०४५ साल भदौ ५ गते ६ दशमलब ६ रेक्टर स्केलको भुकम्प आएको जनाइएको छ । सो बेला हजारौ मान्छेको मृत्यु भएको थियो ।